काठमाडौं, १४ माघ । प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता धनजित बस्नेतले उहाँहरूमाथि अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता गरिएको हो।
अदालतमा विचाराधीन मुद्दामा न्यायीक निरोपणको कार्यलाई प्रभाव पार्ने र अदालत प्रति जनताको विश्वास घटनाउने गरी विज्ञप्ति जारी गरिएको अधिवक्ता बस्नेतको आरोप छ। मुद्दाको पेशी यही माघ १५ गते तोकिएको हो।
पुस २४ गते चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिनिधसभा विघटनलाई असंवैधानिक भएको जनाएका थिए।
उनीहरूले विज्ञप्ति जारी गर्नुअघि नै यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा यस विषयमा बहस चलिरहेको थियो।
अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था छ।