काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिले  अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा कुरा उठेको छ।
प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा आइतबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो कुरा उठाएका हुन्।
उनले प्रधानमन्त्रीका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै इजलासलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले अदालत र वकिलबारे दिएका अभिव्यक्ति रोक्न  पनि उनले माग गरे।
त्रिपाठीको कुरा सुनेपछि इजलासको नेतृत्व गरिरहेका प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बजारमा क-कसले के हल्ला गर्छन् भन्ने अदालतले नसुन्ने बताए।
प्रधानन्यायाधीश राणाले भने,  ‘हामीले बजारमा को-को हल्ला गरे भनेर हेर्ने कुरा हुन्न। पक्ष-विपक्ष र बारे आफ्ना धारणा राख्दै हिँडेका छन्। हामीले कसैको कुरा सुन्दैनौं।’
यसअघि प्रधानमन्त्री ओलीले गएको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भन्दै व्यंग्य गरेका थिए।